हाम्रो भनाइ
नेपालमा विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, भण्डारण, सार्वजनिकीकरण र प्रयोग विगत लामो समय देखि हुँदै आइरहेको छ । यसको इतिहासलाई हेर्दा सन् १९६२ मा तत्कालीन शिक्षा मन्त्रालयले विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क प्रकाशन गरेको देखिन्छ । त्यसपछि यस कार्यले निरन्तरता पाउँदै आएको सन्दर्भमा वि.सं.२०५६ सालमा शिक्षा विभागको स्थापना भएपछि यस कार्यले ठूलो फड्को मारेको देखिन्छ ।
वि. सं. २०६१/६२ देखि Flash Reporting System मा गएपछि विद्यालयस्तरीय शैक्षिक सूचना व्यवस्थापन गर्ने कार्य थप व्यवस्थित भएको पाइन्छ । वि.सं. २०७०/०७१ देखि Electronic Based Excel मा जानुका साथै वि.सं २०७५ देखि अनलाइनमा आधारित बनाएपछि तथ्याङ्क व्यवस्थापनमा प्रविधिको प्रयोगले महत्त्व पाएको देखिन्छ ।
प्रारम्भिक बालकक्षादेखि विद्यालय शिक्षाको कक्षा १२ सम्म सञ्चालित सबै प्रकारका विद्यालयहरुको विद्यार्थी, शिक्षक, विषय, भौतिक पक्ष, आपतकालमा शिक्षा, विद्यालय कर्मचारी, प्रतिवेदन र विविध पक्षसँग सम्बन्धित सूचनाहरु समेत प्रविष्ट गर्ने व्यवस्था गरेर यस प्रणालीलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System, IEMIS) को रुपमा विकास गरिएको छ ।
यस प्रणालीमा विवरण प्रविष्ट गर्ने विषयमा विगतमा एक जानकारीमूलक भिडियो तयार गरिएको तर प्रणालीमा समय समयमा गरिएका परिमार्जनहरुलाई उक्त भिडियोले सम्बोधन गर्न नसक्ने अवस्था आएको तथा प्रयोगकर्ताहरुबाट सहजीकरण पुस्तिकाको अनुरोध भई आइरहेकाले यो सहजीकरण पुस्तिका तयार गरिएको हो । यस पुस्तिकाले विशेष गरी विद्यालय तहमा यस प्रणालीको प्रयोगकर्ताहरुलाई विवरण प्रविष्ट गर्न र आवश्यक प्रतिवेदन प्राप्त गर्नका लागि सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।
यस पुस्तिकाको प्रयोगबाट सङ्घ, प्रदेश, स्थानीय र विद्यालय तहका प्रयोगकर्ताहरुलाई सहजता प्राप्त भइ प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मदत पुग्नेछ भन्ने विश्वास लिइएको छ । पुस्तिकालाई समयानुकूल परिमार्जन गरिँदै लगिनेछ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथा सोको प्रयोग सम्बन्धी प्रस्तुत पुस्तिकामा गर्नुपर्ने सुधारका सम्बन्धमा सरोकारवालाहरुको महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त हुने अपेक्षा गरिएको छ साथै कर्णाली प्रदेशको तथ्याङ्क बिष्लेषण र सुधारका लागि यो पुस्तक उपयोगि हुनेछ भन्ने आशा लिइएको छ ।
कर्णाली प्रदेश सरकार
सामाजिक बिकास मन्त्रालय
एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अद्यावधिक गर्नुपूर्व आवश्यक पर्ने कागजात/विवरणहरु |
विद्यार्थी (Student)
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (पहिलोपटक विद्यार्थीको विवरण प्रविष्ट गर्दा)
- विद्यार्थी भर्ना रजिष्टर
- मार्क लेजर (बार्षिक नतिजा विवरण) र बीचैमा विद्यालय छाड्ने विद्यार्थीको विवरण
- पाठ्यपुस्तक र छात्रबृत्ति बुझेको भरपाई
- विद्यार्थीको हाजिरी पुस्तिका
शिक्षक (Teacher)
- शिक्षकको व्यक्तिगत विवरण फाइल (नागरिकता, योग्यता र तालिमका प्रमाणपत्र, अध्यापन अनुमति पत्र, शुरु नियुक्ति तथा बढुवा नियुक्ति पत्रका प्रतिलिपि र सिटरोल फाराम समेत रहेको)
- सिटरोल नं, कर्मचारी सञ्चय कोष नं, विमा लेख नं, नागरिक लगानी कोष नं र मोवाइल नं तथा इमेल ठेगाना
- बैकको खाता नं र खाता भएको बैकको नाम
- साप्तहिक कार्यतालिका(रुटिन)
भौतिक (Physical)
- विद्यालय सुधार योजना
- निरीक्षण पुस्तिका
- आर्थिक लेखा परीक्षण तथा सामाजिक परीक्षणको प्रतिवेदन
- विद्यालयको बार्षिक कार्यपात्रो
- भवन, कक्षाकोठा, शौचालय, विज्ञान प्रयोगशाला, खेलमैदान, पर्खालको अवस्था एवम् सो सम्बन्धी विवरण
- विद्यालयमा प्राप्त अनुदान (पाठ्यपुस्तक, छात्रबृत्ति, प्रतिविद्यार्थी अनुदान, निरन्तर मूल्याङ्कन, विद्यालय सञ्चालन लगायतका शिर्षकमा) को विवरण
- विद्यालयको जग्गाको विवरण (जग्गाधनि प्रमाण पत्र)
- पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, बाल सामग्री, सन्दर्भ सामग्री
- बुक कर्नर एवम् पुस्तकालयमा रहेका पुस्तकको संख्या
- विद्यालयमा रहेका कम्प्यूटर संख्या र तिनको प्रयोग सम्बन्धी विवरण
- चालू बर्षमा स्थानीय तह/प्रदेश सरकार /संघीय सरकार अन्य गैरसकारी निकायको सहयोगमा निर्माण तथा पुनःनिर्माण भएका भवन, कक्षाकोठा, छात्रा शौचालय, बुक कर्नर तथा खानेपानीको प्रबन्ध सम्बन्धी विवरण
विषय (Subject)
- विद्यालय तहको पाठ्यक्रम
- अक्षाराङ्कन पद्धति कार्यान्वयन निर्देशिका- २०७८
कर्मचारी (Staff)
- कर्मचारीको व्यक्तिगत विवरण फाइल (नागरिकता, योग्यता र तालिमका प्रमाणपत्र)
- सिटरोल नं, कर्मचारी सञ्चय कोष नं, विमा लेख नं, नागरिक लगानी कोष नं र मोवाइल नं तथा इमेल ठेगाना
- बैकको खाता नं र खाता भएको बैकको नाम
विविध (Miscellaneous- Misc)
- विद्यालय व्यवस्थापन समितिको बैठक पुस्तिका
- शिक्षक अभिभावक संघको बैठक पुस्तिका
- पाठ्यपुस्तक प्राप्ति सम्बन्धी विवरण
- स्थानीय पाठ्यक्रम उपलब्धता सम्बन्धी विवरण
- बालविकास कक्षाका लागि छुट्टै कोठा र प्रयोग नभएका कोठा सम्बन्धी विवरण
अनलाइन (Online) प्रोफाइल
- विद्यालय र प्रधानाध्यापकको मोवाइल नम्बर
- विद्यालयको इमेल ठेगाना
- बैंक खाता नम्बर
- माध्यमिक तहको कक्षा ९-१० सञ्चालित विद्यालय भए SEE Code (विगतमा परीक्षा नियन्त्रण कार्यालय हालको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालया कक्षा १० ले उपलब्ध गराएको), माध्यमिक तहका कक्षा ९-१२ सञ्चालित विद्यालय भए SEE र SLCE Code (विगतमा उच्च माध्यमिक शिक्षा परिषद हालको राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको) दुवै ।
- विद्यालयको अक्षांश (Latitude) तथा देशान्तर (Longitude) सम्बन्धी विवरण
- बालबिकास केन्द्र र विद्यालयको तहगत अनुमति/स्वीकृति मिति
No comments:
Post a Comment